१. चलनचल्तीमा रहेको नगद भनेको के हो ?
नेपाल
राष्ट्र बैंकले नेपाल सरकार, बैंक तथा वित्तीय संस्था,
सार्वजनिक संस्थान आदिलाई कर्जा दिएर वा
विदेशी विनिमय खरिद गरी बजारमा पैसा पठाउने गर्दछ । यसरी केन्द्रीय बैंकले बजारमा
पठाएको मुद्रालाई आधार मुद्रा वा केन्द्रीय बैंक मुद्रा भनिन्छ । यस्तो पैसाको केही
अंश बैंक तथा वित्तीय संस्थाको ढुकुटीमा रहन्छ,
केही बैंक तथा वित्तीय संस्थाहरुले
आफुले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात खातामा जम्मा गर्दछन् भने बाँकी बैंक
तथा वित्तीय संस्था बाहेकको संघसंस्था,
व्यवसाय एवम् सर्वसाधारणको हातमा रहन्छ
। यसरी केन्द्रीय बैंकको परिधि बाहिर रहेको नगदलाई नै चलनचल्तीमा रहेको नगद भनिन्छ
। हाल यस्तो नगद करिब ८०० अर्व रुपैयाँको हाराहारीमा रहेको छ ।
२. चलनचल्तीमा रहेको नगदसम्वन्धी तथ्याङ्क कहाँ पाइन्छ ?
नेपाल
राष्ट्र बैंकले यस्तो तथ्याङ्क दैनिक रुपमा प्रकाशन गर्ने काम गर्दछ । यसलाई
बैंकको होमपेजमा रहेको Central
Bank Survey and Liquidity Position मा
गएर प्राप्त गर्न सकिन्छ ।
३. के दशैमा साटिएको नयाँ नोटले चलनचल्तीमा रहेको नगदमा वृद्धि गर्दछ ?
सर्वसाधारणसँग
पहिले नै भएको र बैंक तथा वित्तीय संस्थासँग भएको पुरानै नगद केन्द्रीय बैंकमा आई
नयाँ नोटसँग साटिएमा यसले चलनचल्तीमा रहेको नगदमा केही पनि वृद्धि गर्र्दैन ।
तथापि नगदको माग पुरा गर्न बैंक तथा वित्तीय संस्थाहरुले केन्द्रीय बैंकमा रहेको
आफ्नो खाताबाट नगद झिकेर सर्वसाधारणलाई बाँढे वा सो वापत केन्द्रीय बैंकबाट नयाँ
नोट सटही हुन गयो भने मात्र चलनचल्तीमा रहेको नगदमा वृद्धि हुन जान्छ । तसर्थ
दशैको समयमा नयाँ नोट साटेजति नै रकम बराबर चलनचल्तीमा रहेको नगदमा वृद्धि हुदैन
किनकी नगद सटही गर्दा त्यति नै रकम बराबरको पुरानो नोट नेपाल राष्ट्र बैंकमा
फर्किने गर्दछ ।
४. के चलनचल्तीमा रहेको नगदमा बृद्धि हुनुले अनौपचारिक वा गैर
कानुनी आर्थिक क्रियाकलापमा वृद्धि भएको भन्ने बुझिन्छ ?
यस्तो
नगदको माग वृद्धि हुनुले अनौपचारिक वा गैरकानुनी क्रियाकलाप बढेको भनेर ठोकुवा
चाँही गर्न सकिदैन । अर्थतन्त्रको विस्तार हुँदै जाँदा वा मुद्राप्रदायमा विस्तार
हुँदै जाँदा चलनचल्तीमा रहेको नगदमा वृद्धि हुन सक्दछ । तसर्थ यस्तो नगदलाई मुद्राप्रदायसँग वा कुल गार्हस्थ्य
उत्पादनसँगको अनुपातका रुपमा हेर्नुपर्ने हुन्छ । सामान्यतया अर्थतन्त्रको आकार
विस्तार हुँदै जाँदा नगदको मागमा वृद्धि हुदै जाने तर कुल गार्हस्थ्य उत्पादन वा
मुद्राप्रदायको तुलनामा नगदको अनुपात घट्दै जाने हुन्छ । संसारका सबैजसो
मुलुकहरुमा यस्तो नगद रकम वृद्धि हुदै गएको हुन्छ तर कुल गार्हस्थ्य उत्पादन वा
मुद्राप्रदायको तुलनामा नगदको अनुपात नेपाल लगायतका अन्य मुलुकहरुमा घट्दै गएको छ
।
५. २०८२ सालको दशैको अवधिमा चलनचल्तीमा रहेको नगदमा कति विस्तार
भएको छ ?
यो
दशैमा करिब ४१ अर्ब रुपैयाँ बराबर चलनचल्तीमा रहेको नगदमा विस्तार भएको छ । यस्तो
रकम गत दशैमा करिब १०० अर्ब रुपैया र २०८० सालको दशैमा करिब ७५ अर्बले विस्तार
भएको थियो ।
६. के सरकार वा केन्द्रीय बैंकले चाहेजति नोट छापेर बजारमा पठाउन सक्दछ ?
सक्दैन
। नेपाल राष्ट्र बैंकले बजारमा नगद पठाउन कि त विप्रेषण, अनुदान लगायतबाट
विदेशी मुद्रा भित्रिनुपर्दछ कि त नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, सरकार वा सार्वजनिक
संस्थानलाई दिने कर्जा वृद्धि
विस्तार
हुनुपर्दछ । विदेशबाट भित्रिने रकम राष्ट्र बैंक वा नेपाल सरकारले उल्लेख्य रुपमा
वृद्धि हुनेगरी प्रभाव पार्न सक्दैन अर्थात यस्तो रकममा हाम्रो धेरै नियन्त्रण
हुदैन । बाह्य
मुलुकहरुको अवस्थाले यसमा बढी प्रभाव पार्दछ ।
बैंकले दिने कर्जामा समेत विभिन्न कानुन
तथा नीतिगत व्यवस्थाहरुले सीमा तोकेको हुन्छ । उदाहरणका लागि केन्द्रीय बैंकले
नेपालमा सरकारलाई अघिल्लो वर्षको राजस्वको ५ प्रतिशत मात्र ऋण दिनसक्ने व्यवस्था छ
र बैंक तथा वित्तीय संस्थाहरुलाई उनीहरुसँग भएको सरकारी ऋणपत्रको मुल्यबराबर मात्र
कर्जा दिनसक्दछ । तसर्थ, सामान्य
अवस्थामा केन्द्रीय बैंकले चाहेर पनि बजारमा नगदको परिमाण असिमित मात्रामा बढाउन
सक्दैन । आर्थिक संकटको बेलामा भने विद्यमान कानुनहरुमा परिमार्जन गरिएमा वा कानुन
खारेज गरिएमा केन्द्रीय बैंकले नगद मुद्राको आपूर्ति बढाउन सक्दछ ।
७. के नेपाल नगद कारोबार उच्च हुने मुलुकमा पर्दछ?
नगद
कारोबारका आधारमा हेर्ने हो भने नेपाल मध्यम स्तरमा पर्ने गर्दछ । अन्तर्राष्ट्रिय
मुद्रा कोषका अनुसार नेपालमा कुल मुद्राप्रदायमा नगदको हिस्सा १० प्रतिशत रहेकोमा
सो भन्दा बढी नगदको हिस्सा हुने मुलुकहरुको संख्या ५२ भन्दा बढी रहेको छ ।
८. के हामी सबैको निक्षेप एकैपटक नगदमा परिणत गर्न सकिन्छ ?
सकिदैन
। किनकी बैंकिङ प्रणालीले सिर्जना गर्ने मुद्राको अंश दित्तीय निक्षेपको रुपमा
रहेको हुन्छ । अर्थात एउटा व्यक्तिले जम्मा गरेको नगदबाट बैंकले अर्को व्यक्तिलाई
कर्जा दिने गर्दछ । उक्त व्यक्तिले खर्च गरेको नगद बाट अर्को व्यक्तिले पुन
निक्षेप जम्मा गर्न सक्दछ । तसर्थ उही नोट विभिन्न बैंकमा निक्षेप जम्मा हुदै
कर्जाबाट बाहिरिने र पुन जम्मा हुने हुँदा थोरै नगदले धेरै निक्षेप सिर्जना गर्न
सक्दछ । यसको फाइदा के हो भने अर्थतन्त्रमा थोरै नगद भएतापनि बैंक निक्षेपका कारण
धेरै मुद्रा वा क्रयशक्ति सिर्जना हुन जान्छ । जस्तो नेपालमा २०८२ साउनमा कुल नगद
रु.६०० अर्ब र कुल निक्षेप ७२०० गरी कुल मुद्राप्रदाय करिब रु.८००० अर्ब रहेको
थियो । उक्त समयमा बैंक तथा वित्तीय संस्थाहरुसँग ९८ अर्ब नगद, ३४० अर्ब राष्ट्र बैंकमा
रहेको खातामा थियो । करिब ३०० अर्ब बराबरको रकम विदेशी मुद्रा र विदेशस्थित खातामा
थियो जुन ती बैंकहरुले नेपाल राष्ट्र बैंकलाई बिक्रिगरी नेपाली मुद्रा प्राप्त
गर्न सक्छन् । यो बाहेक बैंक तथा वित्तीय संस्थासँग ११०० अर्ब रुपैयाँ सरकारी
ऋणपत्रमा लगानी रहेको छ जसको आधारमा ती संस्थाले करिब १००० अर्ब बराबरको कर्जा
केन्द्रीय बैंकबाट लिने क्षमता राख्दछन् । यो बाहेक कुल सम्पत्तिको ठूलो
हिस्सा भने कर्जाको रुपमा रहेको हुन्छ । यसरी कुनै काल्पनिक अवस्थामा सबै मानिसले
आफ्नो निक्षेप नगदमा परिणत गर्न खोजे भने बैंकिङ प्रणाली तत्काल संकटमा पर्ने
सम्भावना हुन्छ । यही कारण केन्द्रीय बैंकलाई ऐनले बैंकिङ प्रणालीमाथि विश्वास
जगाइराख्ने महत्वपूर्ण जिम्मेवारी दिएको हुन्छ र वित्तीय प्रणालीलाई राजनितिक
हस्तक्षेपबाट समेत टाढा राख्न खोजिएको हुन्छ । ग्राहकको निक्षेप प्रतिको विश्वास जगाइराख्नका
लागि निश्चित सीमासम्मको निक्षेपको बीमा गराउने,
केन्द्रीय बैंकले बाराम्बार रुपमा बैंक
वित्तीय संस्थाहरुको निरीक्षण तथा सुपरिवेक्षण गर्ने, संस्थागत सुशासनका
विभिन्न उपायहरु उपनाउने लगायतका कार्यहरु गरिएको हुन्छ ।
९. के जलेर नस्ट भएको वा बाढी पहिरोले बगाएको नोट केन्द्रीय बैंकले
चलनचल्तीमा रहेको कुल नगदबाट घटाउने काम गर्दछ ?
केन्द्रीय
बैंकसँग कुन ब्यक्ति वा संस्थासँग कुन नोट भन्ने तथ्याङ्क नहुने भएकाले यसरी नष्ट
भएको, बगेर
गएको वा नेपाल भन्दा बाहिर गएर बसेको नोट चलनचल्तीमा रहेको नोट रकमबाट घटाउन सक्दैन
। आंशिक रुपमा जलेका, च्यातिएका
नोटको हकमा भने केन्द्रीय बैंकले उक्त नोट साटिदिने गर्दछ ।
१०. केन्द्रीय बैंकले नयाँ नोट छाप्ने वित्तिकै स्वत बजारमा आउँछ ?
स्वत
आउँदैन । छापेको मुद्रा बैंकको मुद्रा व्यवस्थापन विभागको ढुकुढीमा रहन्छ । यो
मुद्रा बैंकले बजारबाट विदेशी मुद्रा खरिद गर्न,
बैंकको चेक नगदमा भुक्तानी गर्न, सरकारको चेक नगद
भुक्तानी दिन वा बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा दिनमा उपयोग गरेपश्चात मात्र
चलनचल्तीमा आउँछ ।
११. के नेपाल राष्ट्र बैंकसँग भएको विदेशी विनिमय सञ्चिति सिधै
विकास निर्माणको काममा उपयोग गर्न सकिन्छ ?
सकिदैन
। किनकी त्यस्तो सञ्चिति केन्द्रीय बैंकले बजारबाट खरिद गर्दा नै सो बराबरको
भुक्तानी नेपाली रुपैयाँमा गरिसकेको हुन्छ । अतः उक्त सञ्चिति खरिद गर्न वा उपयोग
गर्न जो सुकैले पनि नेपाली मुद्रा भुक्तानी गर्नुपर्ने
हुन्छ
। तसर्थ विदेशी विनिमय सञ्चितिबाट केन्द्रीय बैंकले सटही सुविधा मात्र उपलब्ध
गराउन सक्दछ । सरकारसँग नेपाली रुपैयाँमा आय छ वा आन्तरिक ऋणमार्फत परिचालन गरेको
रकम छ भने जतिपनि विदेशी विनिमय सटही सुविधा लिन सक्दछ अन्यथा उक्त विदेशी मुद्रा
सामान्य अवस्थामा सिधै उपयोग गर्न सकिदैन ।
१२. नगद गैरकानुनी काममा उपयोग भएमा वा कुनै व्यक्तिको घरमा
थुप्रिएर बसेमा कस्तो प्रभाव सिर्जना हुन्छ ?
यसले
बैंकिङ प्रणालीको निक्षेप तथा कर्जा सिर्जना गर्ने क्षमतामा कमी ल्याउँछ र आर्थिक
गतिविधिको विस्तारमा कमी ल्याउन सक्दछ ।
१३. बजारबाट नगद हराउने भनेको के हो ?
मुलुकको
बाह्य क्षेत्र घाटामा जाँदा आयातको भुक्तानीका लागि अत्याधिक रुपमा विदेशी विनिमय
खरिद हुन्छ । यो प्रक्रियामा बजारमा रहेको नगद वा बैंक तथा वित्तीय संस्थाको
केन्द्रीय बैंकमा रहेको निक्षेप केन्द्रीय बैंकमा फर्किने गर्दछ । अर्थात
प्राविधिक भाषामा भन्दा यसले आधार मुद्रा वा केन्द्रीय बैंक मुद्रामा कमी ल्याउँदछ
। जसले गर्दा तरलता अभाव हुने, निक्षेप तथा कर्जा नबढ्ने र समग्र आर्थिक गतिविधिको विस्तारमा
कमी ल्याउने हुन्छ । कोभिडपश्चातको अवधिमा यही कारण नेपालमा तरलता अभाव भई व्याजदर
वृद्धि हुन गएको थियो ।
यस
बाहेक पैसा घरमा लुकाएर राख्दा वा गैरकानुनी काममा प्रयोग हुँदा समेत बजारमा तरलता
अभाव देखिन सक्दछ । तर बाह्य क्षेत्र घाटा हुदाँको जस्तो ठूलो असर भने यसले
सिर्जना गर्न सक्दैन ।
१५. हुण्डीलगायतका अवैधानिक कारोबारले चलनचल्तीमा रहेको नगदमा
कस्तो प्रभाव पार्दछन ?
यसले
गर्दा विदेशी मुद्रा नेपाल प्रवेश गर्न पाउदैन र केन्द्रीय बैंकबाट नगद बाहिर
निस्कन पनि पाउँदैन । उदाहरणका लागि कुनै मुलुकबाट नेपाल विप्रेषण कम्पनीबाट रकम
आएमा उक्त विदेशी विनिमय राष्ट्र बैंकलाई विक्रि हुन्छ र बजारमा नगद प्रवाहमा
वृद्धि हुन्छ । तर अनौपचारिक च्यानलबाट नआउँदा उक्त मुद्रा उतै रहन्छ र नेपालमा
हुण्डीबालाको हातमा रहेको नगद विप्रेषण प्राप्त गर्नेको हातमा मात्र जान्छ । यसरी
नेपाल आउनुपर्ने विदेशी विनिमय तस्करी,
न्यून बिल बनाई गरिएको आयात तथा
नेपालबाट गैर कानुनी तबरले विदेशी मुद्रा बाहिर लानको लागि प्रयोग हुन सक्दछ ।
कहिलेकाँही अनौपचारिक बजारबाट विदेशी विनिमय खरिद गरी नगद नै नेपाल बाहिर लगेको
समाचारहरु पनि आउँछ । यी
सबै कारोबारले नेपालको विदेशी विनिमय सञ्तिचि घटाउने, कर छली गर्ने तथा
बजारमा रहेको नगद विस्तारमा कमी ल्याउने काम गर्दछन् ।
No comments:
Post a Comment