Sunday, May 17, 2020

अर्थतन्त्रमा कुल गार्हस्थ्य उत्पादनमा हुन सक्ने नोक्सानीको अनुमान ।

कुल गार्हस्थ्य उत्पादनमा कोरोना संक्रमणले पुरयाएको क्षति यो संकमण नभएको भए आर्थिक वृद्धिदर कति प्रतिशत हुन सक्थ्यो भन्नेमा अर्थात् baseline growth मा भर पर्दछ । यसमा कुल गार्हस्थ्य उत्पादनमा भएको क्षति अनुमान गर्न तीनवटा baseline scenario हरु लिइएको  छ:  बजेटको वृद्धिदर ८.५ प्रतिशत,  अन्तराष्ट्रिय मुद्राकोषको अनुमान ६ प्रतिशत र अर्को औसत अनुमान ७ प्रतिशत ।

अर्थतन्त्रमा केन्द्रीय तथ्यांक विभागले भने बमोजिम २.३ प्रतिशतको आर्थिक वृद्धि प्राप्त हुने हो भने प्रचलित मूल्यमा मापन गरिने कुल गार्हस्थ्य उत्पादनमा हुने क्षति रु. १३७ अर्ब देखि रु. २२९ अर्ब सम्म रहने प्रारम्भिक अनुमान गर्न सकिन्छ ।
Source : Author's Calculation

तथापि लकडाउनको अवधि बढ्दै गएकाले  आर्थिक वृद्धिदर २.३ प्रतिशत भन्दा तल झर्ने देखिएको छ ।  यस अनुसार आर्थिक वृद्धि १ प्रतिशतमा झर्दा प्रचलित मूल्यमा मापन गरिने कुल गार्हस्थ्य उत्पादनमा हुने क्षति रु. १८४ अर्ब देखि रु.२७६ अर्ब सम्म,  आर्थिक वृद्धि शुन्य प्रतिशतमा झर्दा रु. २२१ अर्ब देखि रु. ३१३ अर्ब सम्म,  आर्थिक वृद्धि ऋणात्मक ३ प्रतिशत हुदा रु. ३३१ अर्ब देखि रु. ४२४ अर्ब सम्म तथा आर्थिक वृद्धि ऋणात्मक ५ प्रतिशत  हुदा रु. ४०५ अर्ब देखि रु. ४९७ अर्ब सम्म हुने देखिन्छ ।


यस सम्बन्धमा नेपाल राष्ट्र बैंकको अध्ययनले कोरोना संक्रमणबाट उत्पन्न अवरोधका कारण प्रचलित मूल्यमा मापन गरिने कुल गार्हस्थ्य उत्पादनमा करिब रु. १ खर्ब ६८ अर्ब क्षति भएको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ । यो अनुमान लकडाउन २ महिनाको हाराहारीमा सकिन्छ भन्नेमा आधारित छ । 
अन्तराष्ट्रिय मुद्रा कोषले केही दिन अघि मात्र नेपालको वृद्धिदर १ प्रतिशतमा सीमित हुने अनुमानका आधारमा करिब २ अर्ब डलर अर्थात हालको विनिमय दरमा करिब रु. २ खर्ब ४० अर्ब बराबरको क्षति हुने अनुमान गरेको छ ।
एशियाली विकास बैंकले हालै प्रकासित गरेको अनुमान अनुसार नेपालमा लकडाउन ३ महिनासम्म रहेमा करिब २ अर्ब १८ अर्ब डलर अर्थात हालको विनिमय दरमा करिब रु. २ खर्ब ६२ अर्ब बराबरको क्षति हुने अनुमान गरेको छ ।  यद्यपि लकडाउन तीन महिना पुगिसकेको अवस्था भने छैन् ।

यी सबै अनुमान हेर्दा आजका दिनसम्म कुल गार्हस्थ्य उत्पादनमा भएको क्षति करिब रु. २ खर्ब ५० अर्ब को हाराहारीमा रहेको प्रस्ट देखिन्छ । तसर्थ यस्तो नोक्सानी ३ खर्ब, ४ खर्ब वा ५ खर्ब भनेर गरिएका अुमानहरु overestimated पो हुन कि? किनकि त्यस्तो क्षति ४ खर्ब हुन त आर्थिक वृद्धिदर कम्तीमा पनि ३ प्रतिशतले ऋणत्मक हुनुपर्ने जस्तो देखिन्छ । अहिले नै त्यस्तो अवस्था आइसकेको जस्तो त पक्कै पनि छैन  ।
.......................................................................................................................................................................


No comments: