Saturday, July 13, 2019

आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. ११ : नेपालले भारतीय मुद्रा संग किन परिवर्तनशील विनिमय दर पद्दती लागु गर्न सक्दैन ?

परिवर्तनशील  विनिमय दर पद्दती बजारमा सिर्जना हुने विदेशी मुद्राको माग तथा आपूर्ति अनुसार विनिमय दर परिवर्तन हुने  पद्दती हो। यस अन्तर्गत विदेशी मुद्राको माग बढ्दै गएमा विदेशी मुद्रा बलियो हुदै जाने तथा स्वदेशी मुद्रा कमजोर हुदै जाने प्रवृति देखा पर्दछ भने विदेशी मुद्राको आपूर्ति बढ्दै गएमा वा माग घट्दै गएमा विदेशी मुद्रा कमजोर हुने तथा स्वदेशी मुद्रा बलियो हुदै जाने सम्भावना रहन्छ।

विदेशी मुद्राको माग तथा आपूर्ति कसरी सृजना हुन्छ ?


कुन पनि देशका बासिन्दा लाइ मुख्यत: विदेश बाट बस्तु तथा सेवा आयात गर्न विदेशी मुद्राको जरुरत पर्दछ।  तर्सर्थ विदेशी बस्तु तथा सेवाको माग बढ्दै जादा विदेशी मुद्राको माग समेत बढ्दै जान्छ। अर्को तर्फ बस्तु तथा सेवाको निर्यात, रेमिटेन्स आय, वैदेशिक अनुदान, वैदेशिक लगानी जस्ता श्रोत बाट विदेशी मुद्राको आपूर्ति हुन जान्छ।

 भारत संग परिवर्तनशील विनिमय दर पद्दति किन उचित विकल्प हुन सक्दैन ?


१. भारत नेपालको सबैभन्दा ठुलो ब्यापारिक साझेदार हो।  नेपालको वार्षिक निर्यात तथा आयातमा ६० प्रतिशत भन्दा बढी हिस्सा भारतको रहेको छ।  यति मात्रै नभएर नेपालमा सबै भन्दा बढी लगानी गर्ने मुलुकमा भारत अग्रस्थानमा छ।  यस्तो अवस्थामा परिवर्तनशील विनिमय दर बाट सृजना हुने अनिश्चितता ले ब्यापार तथा लगानी लाइ नराम्ररी प्रभावित गर्न सक्दछ।  यसको प्रतक्ष्य असर नेपालमा हुने भारतीय लगानी तथा नेपालको निर्यात ब्यापारमा पर्न जान्छ।

२. नेपालको भारत संगको ब्यापार सधै घाटामा रहने गरेको छ र प्रतेक वर्ष त्यस्तो घाटा बढ्दै गईरहेको छ।  यसबाट भारतीय मुद्राको माग नेपालमा बढ्दै जाने तर उक्त मुद्राको आपूर्ति त्यही अनुपातमा हुन नसक्ने अवस्था छ। यस्तो परस्थितिमा विनिमय दरलाई बजारमा छोड्दा नेपालको मुद्रा लगातार रुपमा अवमुल्यन हुदै जाने देखिन्छ। अवमुल्यन बाट नेपालले तत्काल फाइदा लिन सक्ने स्थिति नभएकाले यसले आयातलाई अझै महँगो बनाउने, उच्च मुद्रास्फीति सिर्जना गर्ने तथा प्रतिस्पर्धात्मक क्षमता लाइ थप कमजोर बनाउन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ।

३. नेपालको आयात ब्यापारमा उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ, इन्धन, आदिको अंश ठुलो छ। विनिमय दरलाई बजारमा छोड्दा  भारत संगको ब्यापार घाटाका कारण नेपाली मुद्रा अवमुल्यनवाट  नेपालले आयात गर्ने कच्चा पदार्थको मूल्य बढ्न गई उत्पादन लागत बढ्न जाने र यसले समग्र मूल्य स्तरमा नै बढोत्तरी ल्याई मूल्य वृद्धीमा चाप पर्ने देखिन्छ।

४. परिवर्तनशील विनिमय दरमा हुने उतारचढाव बाट लाभ प्राप्त गर्नका लागि मुलुकको निर्यात तथा आयात ब्यापार विनिमय दर संग लोचदार हुनुपर्दछ।  अर्थात् मुद्रा अवमुल्यन हुदा विदेशी बस्तु सापेक्षिक रुपमा नेपालमा महँगो पर्ने र नेपाली बस्तु विदेशमा सापेक्षिक रुपमा सस्तो पर्न गइ आयात निरुत्साहित हुने तथा निर्यात प्रोत्साहित हुने स्थिति भएमा परिवर्तनशील विनिमय दर पद्दतिले लाभका अवसर समेत बेला बखतमा स्र्जना गर्ने हुन्छ।  तर नेपालमा विदेशबाट माग भएको अवस्थामा अल्पकालमा उत्पादन वृद्धी गर्न सक्ने  क्षमताको बिकाश नभैसकेको तथा आयातको ठुलो अंश नेपालमा उत्पादन गर्न नसकिने तथा अल्पकाल अन्य बस्तुबाट प्रतिस्थापन गर्न नसकिने बस्तुहरु जस्तै पेट्रोलियम पदार्थ , मेसिनरी, पाटपुर्जा, इलेक्ट्रिकल सामान आदि रहेकाले निर्यात तथा आयात ब्यापार विनिमय दर संग बेलोचदार रहेको छ।  यस्तो अवस्थामा परिवर्तनशील विनिमय दरवाट अल्पकालमा लाभ प्राप्त गर्न सक्ने सम्भावना न्युन रहन्छ।

५. विनिमय दर लाइ बजारमा छोड्दा  मुलुकको पुजीं खातालाई समेत बिस्तारै परिवर्त्य बनाउदै लैजानुपर्ने हुन्छ।  तर भारतीय तथा अन्य विदेशी मुद्रा प्राप्तिको दीगो आधार नहुन्जेल सम्म मुलुकले पुजी खाता लाई पूर्ण परिवर्त्य बनाउन सक्दैन।

६. नेपाली जनताहरुमा भारतको अर्थतन्त्र अझै सुध्रिदै जाने तथा नेपालको मुद्रा ब्यापार घाटाका कारण कमजोर हुन्छ भन्ने लागेमा अल्पकालमा भारतीय मुद्राको संग्रह गर्ने प्रवृति बढ्ने सम्भावना समेत रहन्छ। यस बाट भारतीय मुद्राको मागमा थप बिस्तार भई नेपाली मुद्रा अझै अबमुल्यन हुदै जाने हुन्छ।

७. नेपालमा मुद्रा बजार, पुँजी बजार तथा विदेशी विनिमय बजार अझै पनि पूर्ण रुपमा विकशित नभैसकेकाले बजारले निर्धारण गर्ने विनिमय दर यथार्थ स्तरमा नहुन सक्ने सम्भावना हुन्छ।  जसले ब्यापार तथा लगानीमा नकारात्मक असर पार्न सक्दछ।

यी विभिन्न अवस्थाहरुका कारण नेपालले तत्काल भारतीय मुद्रा संग परिवर्तनशील विनिमय दर पद्दति लागु गर्न सम्भव छैन।  मुलुकको उत्पादन क्षमता सुधार गरी निर्यात लाइ विदेशी मुद्रा आर्जनको भरपर्दो श्रोतको रुपमा स्थापित नगरेञ्जुल हालको स्थिर विनिमय दर पद्दति लाई परिवर्तन गरिहाल्ने स्थिति छैन।

2 comments:

Sudarshan Nepal said...

what if we peg our currency to U.S. dollar instead of Indian currency?

BK Shrestha said...

# pegging currency is an aggremenet between the two economies as like as nepal n india.
# There are only 3 currencies in this global economy, they r gold,us dollar n rest of the world currencies after bretten wwood system collapse.
# so pegging wid dollar is just hypothesis only but if flexible is done wid IC .I.e.mentioned above .
#