https://www.kantipurdaily.com/business/2019/01/10/154708937701863172.html
सबै सामग्रीको आयात बढ्दा पनि सरकार र योजना आयोगले गम्भीरता देखाएनन् : अर्थविद्
काठमाडौँ
— मुलुकले पछिल्लो पाँच महिनामा ८९ अर्ब रुपैयाँ बराबरको कृषिवस्तु
भित्र्याएको छ । एकातिर खेतीपातीका लागि सिँचाइ, मलबीउ, यन्त्रलगायत
बजारीकरणको अभाव अर्कोतिर उपभोक्ताको उच्च मागका कारण आयात बढेको विज्ञ
बताउँछन् ।सरकारले धान उत्पादनमा अहिलेसम्मकै रेकर्ड भएको दाबी गरे पनि सबैभन्दा बढी चामल आयात भएको छ । पहिलो ५ महिनामा १३ अर्ब ५८ करोड रुपैयाँको आयात भएको तथ्यांकमा छ । अघिल्लो वर्षको सोही अवधिमा ४२.६ प्रतिशतले बढी हो । ‘सरकारी तथ्यांकले उत्पादन बढेको देखिन्छ । रेकर्ड नै कायम भएको छ,’ अर्थविद् केशव आचार्यले भने, ‘उपभोग पनि बढेकाले केही आयात बढेको छ । सबै सामग्रीको आयात बढ्दा पनि राष्ट्रिय योजना आयोग गम्भीर देखिएन । सरकारले गम्भीरतापूर्वक लिँदै लिएन ।’
कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले कृषिको वृद्धि दर बढेकाले खपत त्यहीअनुसार बढेको बताए । उनले बास्मती चामल मुख्यत: पुलाउका लागि आयात भएको बताए । ‘सम्पन्न ठाउँमा मोटा चामल खाँदैनन् । दुगर्मका धनीले पनि मोटा चामल खाँदैनन् । खाद्य संस्थानले मसिनो चामल ढुवानी गरेको छैन,’ उनले भने, ‘त्यसैले आयात बढेको हुन सक्छ ।’ रकम धेरै ठूलो देखिए पनि परिमाणमा धेरै ठूलो नभएको उनले दाबी गरे । उनले खाद्य संस्थानले वितरण गर्ने चामल वैकल्पिक रूपमा प्रयोग भएको आशंका रहेको बताए ।
तथ्यांकअनुसार तरकारी, दाल, गहुँ, मकै, सोयाबिन तेलको आयात पनि उल्लेख्य रूपमा बढेको छ । तरकारीको आयात १६.२ प्रतिशतले बढेर ६ अर्ब ९८ करोड, फलफूलको आयात ३९.८ प्रतिशतले बढेर ५ अर्ब ७१ करोड रुपैयाँको आयात भएको छ । तरकारी मुख्यत: भारतबाट र फलफूल चीनबाट आयात हुन्छ । आयात हुने अधिकांश तरकारी कालीमाटी तथा फलफूल बजारमा भित्रिन्छ । भारतले कृषिजन्य वस्तुमा पर्याप्त मात्रामा अनुदान दिन्छ । जसले गर्दा त्यहाँको उत्पादन सस्तो हुन्छ । सस्तो हुँदा तरकारीको आयात बढेको व्यवसायीहरू बताउँछन् ।
तरकारी, फलफूलबाहेक सोयाबिनको तेल ५ अर्ब ५३ करोड, मकै ५ अर्ब १९ करोड रुपैयाँको आयात भएको छ । ब्राजिल, अर्जेन्टिनालगायतबाट आयात भएको मकै कुखुराको दानामा प्रयोग हुन्छ । ‘मासुमा आत्मनिर्भरता बढेको छ । त्यसको लागि मकै आयात हुन्छ । आयातित मकै दानामा प्रयोग हुन्छ,’ प्रवक्ता सुवेदीले भने ।
दाल ४ अर्ब ९९ करोड र गहुँ २ अर्ब ३९ करोड रुपैयाँको आयातमै निर्भर हुनपर्ने बाध्यता रहेको तथ्यांकले देखाउँछ । केन्द्रका कार्यकारी निर्देशक शरद राणाले पनि चामल, मकैलगायत वस्तुहरू वैकल्पिक बाटो (मदिरामा) गएको हुन सक्ने बताए । ‘उत्पादनमा समस्या छैन । बढ्दो छ,’ उनले भने, ‘आयात पनि सोहीअनुसार बढेको देखिन्छ ।’
आयात प्रतिस्थापनका लागि उत्पादनमै जोड दिनुपर्ने बताए । केन्द्रले वस्तुका लागि बजार देखाइदिने उनले बताए । वस्तु प्रवद्र्धनका लागि प्रोडक्ट प्रोफाइल तयार गरिरहेको उनले बताए ।
अर्थविद् आचार्यले मन्त्रालयले अन्न बाली उत्पादनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरे पनि पूर्ण रूपमा कार्यान्वयन गर्न नसकेको बताए । ‘प्रधानमन्त्री कृषि परियोजनालगायत विभिन्न कार्यक्रमको घोषणा गरेको देखिन्छ,’ उनले भने, ‘प्रतिफल छैन । परियोजनाहरू पूर्ण रूपमा कार्यान्वयन भएका छैनन् ।’
करिब वर्षअघि ब्याज अनुदान सुरु गरे पनि त्यसको गलत प्रयोग भएको उनले बताए । प्रवक्ता सुवेदीले उत्पादन बढाउन सिँचाइ, बीउ र मलमा जोड दिएको दाबी गरे । ‘चैते धान बढी उत्पादन हुन्छ । त्यसको क्षेत्र विस्तार गर्ने, साना सिँचाइ, सोलारको व्यवस्था गर्दै आएका छौं,’ उनले भने ।
No comments:
Post a Comment